काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध परेको उजुरी सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाएका छन । चितवन–२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मदेवारी दिएका लामिछानेले आफूविरुद्धको उजुरी सम्बन्धमा स्पष्टीकरण बुझाएका हुन।
निर्वाचन अधिकृतको कार्यालयमा उनीविरुद्ध चारवटा उजुरी परेका थिए । तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानुन व्यवसायी युवराज पौडेल ‘सफल’ले इमेलमार्फत दर्ता गराएका थिए । अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोध अन्तर्गत उजुरी परेको हो ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका थिए ।
नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानूनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका थिए । सफलको भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ बमोजिम उजुरी दर्ता भएको हो । दफा १५ मा कुनै पनि उम्मेदवारको निर्वाचनको परिणाम आउनुभन्दा पहिला योग्यताका विषयमा जो सुकैले उजुरी दिन सक्ने उल्लेख छ ।
निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा बुधबार दिउँसो ३ बजेसम्म छलफल गरी टुङ्गो लगाइने जानकारी दिए । सफलले दिएको उजुरीको विषयमा उम्मेदवारले बुझाएको जवाफ निर्वाचन आयोगमा पठाइएको उनले बताए । थप बुझ्न आयोगमा पठाइएको उनको भनाइ छ।