काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो संवादमा अख्तियारले अनुसन्धान थालेको छ । स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन प्रसाईंलाई आग्रह गरेको अडियो सार्वजनिक भएको थियो ।
झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक प्रसाईंको कलेजको सम्बन्धनको प्रक्रिया रोकिएको छ, त्यस्तै उनको अस्पतालले उपचार बिमामार्फत दाबी गरेको १४ करोड रुपैयाँमा प्रश्न उठेकाले भुक्तानी भएको छैन । प्रसाईंका काम गराइदिने र मिलेर देश बनाउने भन्दै सांसद श्रेष्ठले घूस मागेको अडियो आइतबार कपूरबोट टीभीले सार्वजनिक गरेको थियो । यो अडियोबारे सार्वजनिक बहस सुरु भएसँगै अख्तियारले अनुसन्धान थालेको हो ।