काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन जनाएका छन । राप्रपा अध्यक्ष लिङ्देन माइतीघर पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।
आइतवार बिहानमात्र महावीर पुनको धर्नामा डा. गोविन्द केसीले माइतीघर पुगेर ऐक्यवद्धता जनाएका थिए ।
राप्रपा अध्यक्ष लिङ्देनले यो व्यक्ति र क्षेत्रको कुरा नभएर अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले भने, ‘उहाँहरूले उठाएको कुरामा सरकारले सम्बोधन गर्नुपर्छ। तर, उहाँ जस्तो मान्छे सडकमा आएर धर्ना बस्न बाध्य बनाएको छ। सरकारले माग पुरा नगरेसम्म हाम्रो साथ रहन्छ। यो कुनै तर्कबाट टाल्नुपर्ने होइन।’
प्रधानमन्त्रीले आएर पुनसँग तत्काल सम्झौता गर्नुपर्ने उनले बताए। संसदबाट कानुन बनाएर भए पुनको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। ‘पूर्व लडाकु र स्वास्थ्य उपचारको लागि करोडौँ पैसा बाँड्न सक्नेले आविष्कारको लागि किन खर्च गर्न सक्दैन’ उनले प्रश्न गरे।
पुनले ४ बुँदे माग राखेर केही दिनदेखि धर्ना जारी राखेका छन्। धर्नास्थल पुगेर विभिन्न राजनीतिक पार्टीका नेताहरू तथा अभियन्ताहरूले ऐक्यवद्धता जनाइरहेका छन्।