काठमाडौं- नेपालकै चर्चित तथा लोकप्रिय गायिका रचना रिमाल गायक तथा सञ्चारकर्मी बाबुराम भुषाल (शील) को स्वरमा रहेको ‘माया बस्यो लौ तिमीसँगै’ नयाँ गीत सार्वजनिक भएको छ । गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ राम्रो चर्चा बटुल्न थालेको छ । गीतमा शब्द र संगीत पनि बाबुराम भुषालकै रहेको छ ।
युट्युबमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा माया र प्रेम भावका शब्दहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । गीतले युवायुवतीको प्रेम, आत्मीय सम्बन्ध, आकर्षण र भावनात्मक नजिकपनलाई सुन्दर तरिकाले उजागर गरेको छ । पोखराका रमणीय दृश्यहरूमा छायांकन गरिएको भिडियोले गीतलाई अझ आकर्षक बनाएको छ, जहाँ प्रकृतिको सौन्दर्यसँगै प्रेमको भावना मिसिएको देखिन्छ ।
भिडियोमा कलाकार साधना तिवारी, रमेश तिमिल्सेना, पूर्ण थापा र हिराबहादुर रायमाझीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । उनीहरूको अभिनयले गीतको कथा र भावनालाई अझ प्रभावकारी बनाएको छ । गायक बाबुराम भुषालकै कथामा तयार गरिएको यस भिडियोमा सुरज खनालको छायांकन रहेको छ भने विकास धमलाले सम्पादन गरेका छन् ।
समग्रमा, “माया बस्यो लौ तिमी सँगै” गीतले प्रेम, भावना र नेपाली संगीतको मिठासलाई समेट्दै दर्शक तथा श्रोताको मन जित्न सफल भएको देखिन्छ ।
पोर्तुगलमा लामो समय बसेर नेपाली पत्रकारिता सँगसँगै कलाकारितालाई अगाडि बढाउँदै आएका भुषाल हाल बेलायतमा रहँदै आएका छन् । प्रवासमा बसेर पनि उनले नेपाली भाषा, संस्कृति र संगीतप्रति आफ्नो माया र समर्पणलाई निरन्तरता दिँदै आएका छन् । भुषालले आधुनिक तथा लोक–पप शैलीका गीतहरू लेख्ने र आफैं गाउने गर्दै आएका छन्, जसले उनलाई प्रवासी नेपाली कलाकारहरूको भीडमा अलग पहिचान दिलाएको छ ।
प्रवासमा रहँदै पनि उनले थुप्रै नेपाली आधुनिक तथा लोक–पप गीतहरू युट्युबमार्फत सार्वजनिक गरेका छन् । उनका सिर्जनाहरूले विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिको सम्झना दिलाउने मात्र होइन, नेपाली संगीतप्रति आकर्षण पनि बढाइरहेको छ । “माया बस्यो लौ तिमी सँगै” गीत पनि त्यही श्रृंखलाको एक उत्कृष्ट प्रस्तुति हो, जसले प्रेम र भावनालाई केन्द्रमा राख्दै सरल तर प्रभावशाली ढंगले सन्देश दिन खोजेको छ ।