Logo

Jul 30 2026 | २०८३, साउन १४गते

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षकको तलब


बिहीबार , चैत ९ २०७९११:५९
  • 516
    SHARES

  • क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षकको तलब

    काठमाडौं । नेपाली क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइको तलबमा २० प्रतिशत वृद्धि भएको छ । नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको हो । प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको हो ।

    images
    images

    यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर ९करिब १६ लाख रुपैयाँ पाउने छन् । आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने बुझिएको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी रहेको बताए ।

    ‘उहाँको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायर्समा पनि स्थान सुरक्षित गरेको छ । त्यसैले पूर्वशर्त अनुसार हामीले तलब वृद्धि गरेका छौँ,’ उनले भने ।गत माघ २३ गते देसाइलाई क्रिकेट संघले प्रमुख प्रशिक्षकमा नियुक्ति दिएको थियो । औपचारिक नियुक्ति पाउनुभन्दा केही दिनअघिबाटै देसाइले नेपाली टिम सम्हालेका थिए ।

    देसाइको प्रशिक्षणका नेपालले घरेलु मैदानमा २ वटा र यूएईमा एउटा एक दिवसीय शृङ्खला खेलेको छ । घरेलु मैदानमा भएका दुवै श्रृङ्खला नेपालले क्लीन स्वीप गर्न सफल भयो । यसैगरी यूएईमा भएका ४ म्याच मध्ये तीनवटा नेपालले जितेको थियो । समग्रमा देसाइको प्रशिक्षणमा नेपालले खेलेका १२ खेलमा ११ वटामा जित हासिल गरेको छ ।

    यही प्रदर्शनको बलमा नेपालले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर्समा स्थान पक्का गरेको हो । राष्ट्रिय टोलीले चमत्कारिक प्रदर्शन गर्दै दुई महत्त्वपूर्ण सफलता हासिल गरेपछि क्रिकेट समर्थकहरूमाझ देसाइ लोकप्रिय बनिरहेका छन् । क्यानले पनि छिट्टै तलव बढाएर उनलाइ पुरस्कृत गरेको छ ।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस