काठमाडौं । अर्थमन्त्रीको पदको कार्यभार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सम्हाल्ने भएका छन । पार्टीभित्रको रस्साकसीका बीच संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आउने लगभग पक्का भएको छ ।
अर्थ मन्त्रालयको जिम्मेवारी लिने गरी पार्टीबाट सरकारको नेतृत्व गर्ने गरी उपसभापति पूर्णबहादुर खड्का उक्त पदका आकांक्षी थिए । तर, पार्टी सभापति देउवा महतको पक्षमा अडिग देखिएपछि खड्का अर्थमन्त्री हुनबाट वञ्चित भएका छन। पार्टीभित्रका सबैजसो नेता खड्काले नेतृत्व गरेर जाँदा उनले इच्छाएको मन्त्रालय पाउनेमा विश्वस्त थिए । तर, सभापति देउवाले प्रवक्ता महतलाई जुनसुकै हालतमा पनि अघि सार्न खोजेपछि अरूको सुझाव पार्टीमा सुनुवाइ नभएको नेताहरुको भनाई छ ।
‘सभापतिले अर्थमन्त्री बनाउने निर्णय गरेपछि अरूको रायले काम गरेन’ संस्थापन पक्षका शीर्ष तहका एक नेताले भने । अर्थमन्त्री महतलाई बनाउने देउवाको अडानबाट उपसभापति खड्का असन्तुष्ट रहेको कांग्रेस स्रोतको दाबी छ । महतलाई अर्थमन्त्री बनाउन नहुनेमा व्यापक असन्तुष्टि हुँदाहुँदै सभापतिले नाम टुंगो लगाउनुभएको छ’, देउवा पक्षका एक नेताको भनाई छ । विगतमा महतले पाएको भूमिकाको आधारमा उनी भाग्यमानी नेतामा पर्दछन ।