सुमना तिम्सिना
-नोभेम्बर २५ तारिखलाई महिलामाथि हुने हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको छ । यसको ऐतिहासिक पृष्ठभूमि केलाउँदा सन् १९३७ मा डोमेनिकन गणतन्त्रमा तत्कालिन् त्रिजुलो तानाशाही सरकारका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने उद्देश्यले डोमिनिकनको एउटा शहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन भेलामा पेट्रिया, मिनर्भा र मारियाले सम्बोधन गर्ने कार्यक्रम थियो ।
निरंकुस राज्यको हस्तक्षेपको कारण त्यसबेला तीन जना दिदीबहिनीहरु पक्राउ परे । त्यो निरंकुश सरकारले गरेको अन्याय र अत्यचारको विरुद्धमा बोल्दा उनीहरु पटक पटक जेल परेका थिए । महिला हिंसा विरुद्धको यो अभियान तत्कालिन् त्रिजुलो तानाशाही सरकारद्वारा सन् १९६० मा लोकतन्त्रका लागि लड्ने मिरावेल परिवारका तीन दिदी बहिनीहरुको निर्मम हत्यासंग जोडिएको छ । त्यसताकाका सरकारले ती तीन दिदी बहिनी र परिवारलाई राजद्रोहको आरोप लगाइएको थियो । उनीहरुलाई अधिकारको कुरा गर्दा राजद्रोहको अभियोग लगाई नोभेम्बर २५ का दिन उनीहरुको निर्मम हत्या भएको थियो । यस घटनालाई लिङ्गको आधारमा हुने राजनैतिक हिंसाको रुपमा लिइन्छ । तिनै मिरावेल परिवारका पेटिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदीबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रुपमा लिई महिलाबादीहरुले यिनीहरुको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने परम्पराको सुरुवात भएको हो । नेपालमा पनि सन् १९९७ देखि महिला हिंसा विरुद्धको दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालियो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शूरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१मा सेन्टरपो ओमन्स ग्लोवल लिडरसीप (CWGL) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मीहरुको समूहले गरेको थियो । त्यस पछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तराष्ट्रिय अभियान विश्वव्यापी रुपमा मनाउँदै आएको पाइन्छ । हाल विश्वभर मनाईने यो अभियान नेपालमा पनि ३२ औं वर्ष भइसकेको छ ।
Unite Invest to Prevent Violence Against Women and Girls भन्ने अन्तराष्ट्रिय नारा तथा “लैगिंक हिंसा अन्त्यको सुनिश्चितता महिला र वालवालिकामा लगानी ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराकासाथ नेपालमा पनि सन् २०२३ को लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालनका लागि धनकुटामा पनि नोमेम्भर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम मनाइने भएको छ । जिल्ला स्थिति सरकारी तथा गैर सरकारी संस्थाहरुले संयुक्तरुपमा वर्षेनी हिंसा न्युनिकरणका लागि विभिन्न कार्यक्रम भइरहँदा महिला तथा बालिका हिंसाका घटनाहरु अझ बढी सार्वजनिक भैरहेका छन् । महिला तथा बालिकाहरु बलत्कार, बहुबिवाह, घरेलु हिंसा, बालयौनदुराचार लगायतका घटनाको शिकार भएका छन ।
हिंसा पीडितको न्याय र पीडकको कारवाहीको लागि कानूनी व्यवस्था रहेपनि प्रभावकारी नहुँदा जुनसुकै बहानामा महिला माथि हिंसा भइरहेको छन् । दिनानुदिन हिंसाको प्रकृति फरक खालका हुने गरेका छन् । महिलाहरुमात्र नभएर समाजमा पुरुषहरु पनि हिंसामा पर्ने गरेका छन् । यसको रोकथाम तथा अन्त्यका लागि समाजका मार्गदर्शकहरु, शिक्षकहरु, राजनितिमा सक्रिय, समाज सेवामा सक्रिय, सुझबुझ भएका, शिक्षित तथा चेतनशिल, सरोकारवाला सबै ब्यक्तित्वहरु र महिला मानव अधिकारकर्मिहरुले महिलाहिंसा विरुद्धको १६ दिने अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी देखिन्छ । महिला हिंसा भन्नाले महिला भएकै कारणले महिला माथि हुने सामाजिक, आर्थिक, शारीरिक मानसिक, राजनैतिक, सांस्कृतिक तथा यौनजन्य आदि रुपमा भोग्नु परेको हिंसालाई बुझिन्छ । महिला हिंसाबाट जुनसुकै जातजाती, समुदाय र वर्गहरु, ग्रामिण क्षेत्र देखि सहरी क्षेत्र, सर्वहारा वर्गदेखि पूँजीपति वर्गसम्म, तल्लो तहको महिला देखि माथिल्लो ओहदाका महिलाहरु समेत पीडा खप्न बाध्य छन् । पीडा धेर थोर चाहीँ हुन सक्छ तर यसको न्यूनिकरणको लागि सबैले आजको दिनमा प्रतिवद्धता, एकबद्धता जनाउन जरुरी छ ।
सेतो रिबन अभियान
महिला तथा बालिका विरुद्धका हिंसा गर्नु हुँदैन, महिला तथा वालवालिकाका विरुद्धका हिंसाको कहिले उपेक्षा गर्नुहुदैन र हिंसा खपेर बस्न हुदैन भन्ने उद्धेश्यका साथ सेतो रिबनको अभियान सुरु भएको हो । सेतो रिबन अभियान पुरुषवर्गबाट महिला एवं बालिकाहरु प्रति हुने हिंसाको विरुद्धमा पुरुष र युवाहरुद्वारा आफ्नो व्यक्तिगत रुपमा वा संस्थागत रुपमा गरिने प्रतिवद्धताको अभियान हो । यसको सुरुवात महिला तथा वालिकाका विरुद्ध भइरहेको हिंसाको बारेमा बोल्ने जिम्मेवारी पुरुषवर्गले लिनुपर्दछ भन्ने बिचारबाट सन् १९९१ मा क्यानडाका केहि पुरुषबाट सुरु भएको थियो । क्यानडामा सानो तयारी पछि गरिएको यस कार्यक्रमबाट लाखौं पुरुषहरुले सेतो रिबन लगाएर प्रतिबद्धता जनाएका थिए । हिंसालाई अंग्रेजीमा Violence भनिने र Violence को सुरुको अंग्रेजी वर्णमालाको अक्षर V लाइ उल्टो बनाउँदा बन्ने आकारमा लगाइने सेतो रिबन महिला तथा वालिकामाथि हुने हिंसा अन्त्यका लागि प्रतिबद्धताको संकेत हो । यो अभियान देश अनुसार फरक फरक ढंग र समयमा मनाइने भएता पनि हरेक बर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा अझ विशेष रुपमा रिबन लगाउने गरिन्छ । हाम्रो देशमा पनि सन् २००६ देखि अन्तराष्ट्रिय नारी दिवश अर्थात मार्च ८ मा सेतो रिबन अभियान सुरु गरिएको थियो ।
अन्त्यमा, आजको २१ औं शताब्दीको ज्ञान–विज्ञानको युग, सुचना प्रविधि र सामाजिक संजालको अधिकतम् प्रयोग भएको समय पनि हो यो समयमा हरेक माध्ययमबाट हरेक कुराहरु सिक्न सकिने समय हो । नेपालको संविधान २०७२ मा महिलाहरुको हकको व्यवस्था राम्रो भएतापनि कार्यन्यन पक्ष फितलो भएका कारण अझै पनि ग्रामिण भेगका महिलाहरु, ठूला कुलघरानाका महिलाहरु जो इज्जत जाने डरले बाहिर कुरा निकाल्न नसकिरहेका, शहरबजारमा बसेर पनि शिक्षाको पहुँचबाट टाढा भएका महिला तथा बालिकाहरु बढि पिडित देखिन्छन् ।
धन र घमण्डले भरीपूर्ण भई संस्कार नपाएकाहरु, शिक्षित भनाउँदाहरु अर्थात ठूलोठालु हुँ भन्नेहरु, राजनैतिकरुपमा सत्ताको आड पाएका मतियारहरु, नियमित मादक पदार्थ सेवनकर्ताहरु अर्थात नसाको कुलतमा फसेकाहरु, म एक आमाबाट जन्मेको पुरुष हो भन्ने ज्ञान नभएका बिवेकहिनहरुबाट घरपरिवार भित्र वा बाहिर महिलाहरु हिंसाको सिकार हुनपरेको तितो यथार्थ हामी समक्ष यथेस्ट छन् । महिला हिंसा न्यूनिकरणका प्रयासहरु नभएका भने होइनन् तर सार्थक प्रयासको खाँचो टड्कारो रुपमा खड्किएको देखिन्छ । (लेखक धनकुटाकी महिला अधिकारकर्मी हुन् )