काठमाडौं-चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा रहस्यमय मृत्यु भएकी छात्रा
शालिन पोखरेलको घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा प्रर्दशनमा उत्रिएका नेपाल विदार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेलको मृत्युको घटनाको निस्पक्ष छानविन गर्न माग गर्दै बानेश्वरमा प्रर्दशन गरेका सात जना विदार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरु बासुदेव न्याउपाने(कैलाली), बिबेक लामिछाने(भक्तपुर), पुजा फुँयाल (सोलुखुम्बु) रहेका छन् ।
त्यसैगरी, नेपाल विद्यार्थी संघ भक्तपुर बहुमुखी क्याम्पसका स्ववियु सदस्य सुदिप ढुङ्गाना(तनहुँ), नेविसंघ भक्तपुर जिल्ला सह–सचिव मोहन कालाथोकी, एनसिआईटी कलेज नेविसंघका इकाई अध्यक्ष सन्तोष आचार्य (जुम्ला), नेविसंघका नेता मोहम्मद अल्ताफ नेपाली(रौतहट) रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुनिल शर्माले बताए ।