काठमाडौँ — नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र चितवन नेताहरुको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार कारबाही फुकुवा गरेका नेताहरुले उपनिर्वाचनमा खेल्ने भूमिकालाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।
तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । चितवनका कोइराला पूर्वजिल्ला सभापति हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध तत्कालीन चितवन-४ बाट स्वतन्त्र उम्मेदवार उठेपछि विकास कोइराला कारबाहीमा परेका हुन।